फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई लक्षित गर्दै प्रतिगमन र प्रतिक्रान्तितिर जान चाहने कम्युनिस्ट नामधारी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीभन्दा नेपाली कांग्रेस हजारौँ गुणा लोकतन्त्रवादी भएको बताएका छन्। बुटवलमा आयोजित गठबन्धनको सभामा सम्बोधन गर्दै उनले कांग्रेससँगको गठबन्धनप्रति आरोप लगाउनेहरुलाई उक्त जवाफ दिएका हुन्।
उनले प्रतिगमन र प्रतिक्रान्तितिर जान चाहने कम्युनिस्ट खोल ओडेका गुट, समूह, विचार र प्रवृत्तिभन्दा खुलेआम आफ्नो विचारको पक्षपोषण गर्ने र लोकतन्त्रको पक्षपोक्षण गर्ने बुर्जुवाहरु धेरै नजिक हुने बताए।
प्रचण्डले हिजो पनि निरंकुश पञ्चायती तानाशाहीको अन्त्य नेपाली कांग्रेस र वामपन्थीको एकताबाट मात्रै सम्भव भएको बताए। ‘अनि निरंकुश राजतन्त्रको अन्त्यको निम्ति नेपाली कांग्रेस र वामपन्थीहरु सहकार्य गरेर बाह्र बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौतामा पुगेपछि एउटा नयाँ युगको सुरुवात नेपालमा भएको हो,’ उनले भने।
प्रचण्डले वाम-लोकतान्त्रिक शक्तिहरुको एकताले जहिले पनि प्रगतितिर, परिवर्तनतिर, शान्तितिर, स्थिरतातिर लगेको र प्रतिगमनकारी शक्तिसँग एकताले दुर्घटनाको खतरा बढेको बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्दा जनताको सार्वभौम संस्था प्रतिनिधि सभा विघटन गरिएको प्रचण्डको भनाइ छ। पार्टीभित्र आफू अल्पमतमा परेपछि ओलीले संविधानले नै नदिएको अधिकार प्रयोग गरेर जनताको सार्वभौम संस्थालाई विघटन गरेको उनको भनाइ छ।
‘पार्टीभित्र संघर्घको बदला लिने कोसिस गरियो। त्यो पक्कै पनि देशलाई निरंशुकता र अराजकताको भुमरीमा हाल्ने, प्रतिगमनतिर लैजाने नै कोसिस थियो। त्यो परिस्थितिमा दुई तिहाइको सरकार, पार्टीभित्र चलिरहेको बहसको बीचबाट हामीले त्यो प्रतिगमनलाई परास्त गर्नुपर्छ भनेर धेरै मेहनत गरेर, धेरै चक्र छलफल गरेर यो गठबन्धन निर्माण गरिएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।