काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी गठबन्धनको नेतृत्व गरेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित सत्ता गठबन्धनको भेलामा सम्बोधन गर्दै उनले ओलीले अलिकति मात्रै शक्ति आर्जन गरे भने गणतन्त्रलाई जोखिममा राख्ने बताए।
‘जम्मै दक्षिणपन्थीसँग उनको साँठगाँठ छ। राप्रपाको नीति क्लियर छैन? राजसंस्थालाई पुनःस्थापित गर्ने’, नेपालले भने, ‘त्यो प्रतिगामी गठबन्धन हो। अपवित्र गठबन्धन हो। देशघाती गठबन्धन हो।’
उनले आफूहरुले पहल नगरेको भए देश प्रतिगमनको दिशामा जाने बताए। ओलीले प्रतिनिधि सभा विघटन गरेकोप्रति लक्षित गर्दै उनले भने, ‘संविधान क्षत विक्षत् भइसकेको हुनेथियो। लोकतन्त्र मासिने थियो। गणतन्त्र समाप्त हुने थियो। संघीयतालाई समाप्त पारिने थियो। यो संविधानको मूल मान्यता छन्। समाजवादको दिशामा अगाडि बढ्ने यात्रा त्यसमा अवरोध पैदा हुने थियो। हामीले यो देशलाई निकै ठूलो संकटबाट बचाएका छौँ। एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौँ। यसमा हामीले गौरवबोध गर्नुपर्छ।’
ओली प्रधानमन्त्री छँदा अनुचित काम नहोस् भनेर आफूहरुले कुरा उठाउँदा ‘मलाई कामै गर्न दिएन’ भनेर रोएको नेपालको आरोप छ। ‘शरम लाग्दैन? काम गर्नका लागि हामीले भनेका थियौँ। राम्रो काम गर्नुस्। अनुचित काम नगर्नुस्। भ्रष्टाचारलाई रोक्नुस्। सुशासनको प्रत्याभूति गर्नुस्। कुनै पनि परियोजनाको सुरुवात गर्दा लगानी र प्रतिफललाई ध्यानमा राख्नुस्। प्राथमिकीकरण तय गर्दा कुनको सबैभन्दा पहिले आवश्यकता छ, त्यलाई राम्ररी मूल्यांकन गर्नुस्। तर यस्त सुझाव र सल्लाह उहाँलाई पचेन। न मैले भनेको पच्यो, न कमरेड प्रचण्डले भनेको पच्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।