काठमाडौं- दार्चुलामा प्रमुख दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने भएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका पोलिटब्युरो सदस्य गणेश ठगुन्ना र कांग्रेस केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूबीच अगामी मंसिर ४ गते प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा हुने भएको हो।
यी दुवै प्रभावशाली नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले पनि यहाँको सरगर्मी बढेको छ। निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा ९ जना चुनावी मैदानमा छन्। मन्त्री बडू सातौं पटक उम्मेदवार बनेका छन् भने ठगुन्ना तेस्रो पटक। मन्त्री बडू सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्।
ठगुन्ना २०७० र ७४ मा प्रत्यक्षमा निर्वाचित सांसद हुन्। उनको यो तेस्रो उम्मेदवारी हो। यसर्थ, ठगुन्ना पनि ह्याट्रिक गर्ने दाउमा छन्। त्यस्तै मन्त्री बडू पनि ०४८ र ०५६मा प्रत्यक्ष निर्वाचित भएका थिए। उनी पनि तेस्रोपटक ह्याट्रिक गर्ने दाउमा देखिएका छन्।
बडू ५ र ठगुन्ना १ पटक मन्त्री
०४८ देखि संसदीय राजनीतिमा मन्त्री बडू अभ्यस्त तथा परिपक्क विधायकका रुपमा परिचित छन्। ०३६ सालदेखि राजनीतिक आन्दोलनमा लागेका बडू प्राध्यापन पेसा त्यागेर पूर्णकालिन राजनीतिमा लागेर कांग्रेसको प्रभावशाली नेताका रुपमा स्थापित भएका व्यक्ति हुन्।
बडूले पटक–पटक गरी पाँचपटक राज्यको निकायमा बसेर काम गरिसकेका छन्। उनी ०४८—०५१ मा आवास तथा भौतिक योजना सहायकमन्त्री, ०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री, सञ्चार र वनमन्त्री, नेपाल सरकारको प्रथम प्रवक्ता र हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन्।
यता, ठगुन्ना विद्यार्थी राजनीतिबाट उदाएका पात्र हुन्। उनी ०४५ सालमा अनेरास्वियूको दार्चुला–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएदेखि सक्रिय राजनीतिमा लागेका थिए। ०४७ मा मालेतिर लागे पनि उनी फेरि एमालेमा फर्किए। उनी ०५४ मा जिल्ला विकास समिति, दार्चुलाको सभापति भइसकेका छन्। ठगुन्ना ०७७ पुषमा संसद् विगठन भएप्रश्चात केपी ओलीको मन्त्रिपरिषद्मा पहिलो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका थिए।
ठगुन्ना : जित २, हार १
गणेश ठगुन्ना पहिलोपटक पहिलो संविधानसभाको निर्वाचन ०६४ मा उम्मेदवार बनेका थिए। उनका प्रतिस्पर्धीको रुपमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू र माओवादीका लक्ष्मणदत्त जोशी चुनावी मैदानमा थिए। त्यो बेला जोशी ३० वर्षका थिए। उनी ३० वर्षका युवा जोशीसँग पराजित भए। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मतमात्र पाए। त्यस्तै बडूले १२ हजार ५९९ मत पाएका थिए।
ठगुन्ना दोस्रोपटक दोस्रो संविधानसभाको निर्वाचन ०७० मा एमालेबाट उम्मेदवार बने। उनका प्रतिस्पर्धी कांग्रेसका बडू नै थिए। २० हजार ४७० मत प्राप्त गर्दै ठगुन्ना निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी बडूले भने १९ हजार २३६ मत ल्याएका थिए।
ठगुन्ना तेस्रोपटक संघीय संसद्अन्तर्गत प्रतिनिधि सभामा उठे। ०७४ मा भएको उक्त निर्वाचितमा उनी निर्वाचित भए। उनले २८ हजार ९९८ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गरेका थिए। उनी नेकपा तथा वाम गठबन्धनका साझा उम्मेदवार थिए।
बडू : जित २ हार ३
बहुदल आएपछि भएको पहिलो प्रतिनिधि सभाको निर्वाचन ०४८ मा दिलेन्द्रप्रसाद बडू कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनले ९ हजार ६७८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीले ३ हजार ६४१ मत प्राप्त गरेका थिए।
दोस्रोपटक ०५१ मा भएको मध्यावधि निर्वाचनमा भने उनी पराजित भए। उनका प्रतिस्पर्धी एमालेका प्रेमसिंह धामी निर्वाचित भए। निर्वाचित धामीले १५ हजार ७०८ मत प्राप्त गर्दा बडूले ११ हजार ६११ मत प्राप्त गरेका थिए।
तेस्रोपटक ०५६ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बडूले जित हासिल गरेका थिए। उनले एमालेका वीरबहादुर ठगुन्नालाई हराएका थिए। बडूले २२ हजार ३७९ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी ठगुन्नाले भने १६ हजार ६५६ मत प्राप्त गरेका थिए।
चौथोपटक पहिलो संविधान सभाको निर्वाचन ०६४ मा पराजित भए। उनका प्रतिस्पर्धा एमालेका गणेश ठगुन्ना र माओवादीका लक्ष्मणदत्त जोशीसँग भएको थियो। जोशीले बडू र ठगुन्नालाई हराएका थिए। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मत पाए। त्यस्तै बडूले १२ हजार ५९९ मत प्राप्त गरेका थिए।
पाँचौं पटकको रुपमा बडू दोस्रो संविधानसभाको निर्वाचन ०७० मा उम्मेदवार बनेका थिए। यो पाली भने उनी पराजित भए। उनी एमालेका गणेश ठगुन्नासँग पराजित भएका थिए। ठगुन्ना २० हजार ४७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने बडूले १९ हजार २३६ मतमात्र ल्याएका थिए।
त्यस्तै, छैटौंपटक बडू समानुपातक उम्मेदवार बने। प्रतिनिधि सभा सदस्यको निर्वाचन ०७४ मा उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए।
तेस्रोपटक आमने–सामने
ठगुन्ना र बडू भने तेस्रोपटक एक–अर्काको आमने सामने चुनाव लड्ने भएका छन्। पहिलोपटक पहिलो संविधानसभाको निर्वाचन ०६४ मा दुवैजना चुनावी प्रतिस्पर्धामा देखिएका थिए। त्यो बेला भने दुवै जनाले पराजय भोगेका थिए। जित भने माओवादीका लक्ष्मणदत्त जोशीको पोल्टामा गएको थियो। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मत पाएका थिए। त्यस्तै बडूले १२ हजार ५९९ मत प्राप्त गरेका थिए। पहिलोपटक एक–अर्काका प्रतिस्पर्धी बनेका बडू र ठगुन्नाबीच २०४ मतान्तर रहेको थियो। ठगुन्नाभन्दा जोशीले करिब दोब्वर मतले जितेका थिए।
दोस्रोपटक दोस्रो संविधानसभाको निर्वाचन ०७० मा भने बडूलाई ठगुन्नाले हराएका थिए। ठगुन्ना २० हजार ४७० मत प्राप्त गर्दै निर्वाचित भए भने बडूले भने १९ हजार २३६ मत ल्याएका थिए। ठगुन्ना र बडूको मतान्तर १ हजार २३४ रहेको थियो।
तेस्रोपटक अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको लागि ठगुन्ना र बडू दुवैजना आमने–सामने भएका छन्। दुवैजना केन्द्रमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले, यो पाली पनि यी दुई बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एकपटक हराएका बडूलाई ठगुन्ना पुनः जित्ने कसरतमा देखिन्छन्। बडू भने नतिजा उल्टयाउने दाउमा रहेको बझिएको छ। बडू वहालवाला मन्त्रीसमेत रहेकाले उनलाई आफ्नो साख जोगाउनुपर्ने बाध्यता छ।
के छ स्थानीय तहको अवस्था?
दार्चुलामा ९ स्थानीय तह रहेका छन्। यसमा अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिकामा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका छन्।
स्थानीय तहको निर्वाचन ०७९ मा वडाध्यक्षको मत केलाउँदा भने सबैभन्दा ठूलो दल एमाले रहेको छ। वडाध्यक्षको मतअनुसार एमालेको २९ हजार ४२, कांग्रेस २१ हजार ४५४, माओवादी केन्द्र ७ हजार ८८१ र एकीकृत समाजवादीको १४२ मत रहेको छ।
सत्ता गठबन्धन सबैको मत जोड्दा पनि एमाले अगाडि रहेको छ। यद्यपि, यो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीजस्ता सत्ता गठबन्धनमा आबद्ध दलहरू एमालेविरुद्ध एककट्ठा छन्। बैशाखमा भएको स्थानीय तहको निर्वाचन हेर्दा भने गठबन्धनको भन्दा एमालेको मत बढी देखाउँछ। त्यही मत यथावत रहेमा ठगुन्नाले बाजी मार्ने विश्लेषण गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।