काठमाडौं– स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंह बिहीबार जिल्ला अदालत काठमाडौंमा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए।
कमेडी गरेकै आधारमा दुई–दुई पटक पक्राउ पर्दै प्रहरी हिरासतमा बसेका सिंहलाई अदालतले बिहीबार साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भए।
कमेडी गरेकै आरोपमा गम्भीर अपराध गरेजसै गरी अपूर्वलाई हिरासतमा राख्ने र मुद्दा चलाउनेसम्मको काम भएको भन्दै सर्वत्र विरोध समेत भएको थियो। बोलाएको बखत उपस्थित हुने भन्दै प्रहरी हिरासतबाट छुटेका अपूर्व प्रहरी कार्यालय टेकु पुग्दा पुनः हिरासतमै राखिए। त्यसपछि झनै प्रहरीको ‘नियत’लाई लिएर सामाजिक सञ्जालमा विरोध भयो।
अन्ततः उनी बिहीबार धरौटी बुझाएर रिहा भए। कमेडी गरेर दर्शक हँसाएका अपूर्व कसरी थुनिन गए ? अर्थात् हिरासतदेखि अदालतमा धरौटी बुझाउनेसम्मको अवस्था अपूर्वमाथि आइपुग्नुमा १०१ पात्र जोडिएका छन्।
नेवार समुदायका १०१ जनाले अपूर्वलाई हदैसम्मको कारबाही गर्नुपर्छ (थुन्नुपर्छ) भन्दै प्रहरीमा जाहेरी दिएका थिए। असार ३१ गते बत्तीसपुतलीस्थित ग्य्रासिया सेन्टरमा भएको कमेडी कार्यक्रममा अपूर्वले नेवार समुदायको बारेमा ‘पर्फमेन्स’ दिएका थिए।
अपूर्वका अनुसार उनको पर्फमेन्समा दर्शक हाँसेकै थिए। त्यही पर्फमेन्सलाई उनले ‘अपूर्व क्षितिज सिंह’ नामको युट्युब च्यानलमा ‘नेवारको परम्परा’ शीर्षक राख्दै भदौ १० गते अपलोड गरे। लाईभ प्रस्तुतीमा वाहीवाही पाएको त्यही भिडिओ युट्युबमा अपलोड भएपछि विरोध भयो। अपूर्वले २४ घण्टा नबित्दै भदौ ११ गते भिडिओ हटाए। सामाजिक सञ्जालमार्फत् माफी मागे।
तर कुरो यत्तिमै सकिएन। उक्त भिडिओको विषयलाई लिएर नेवार समुदायका १०१ जनाले जिल्ला प्रहरी परिसर टेकुमा अपूर्वविरुद्ध जाहेरी दिए। उक्त जाहेरीलाई समर्थन गर्नेमध्ये एक थिए, हाल काठमाडौं क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवारी समेत दिएका सुमन सायमी।
पृथबिन्दु महर्जन, पुरुषोत्तम कपाली, विक्रम सुवाल, सूर्यप्रसाद छवालु, श्याम रजक, प्रबिल श्रेष्ठ, आयुष श्रेष्ठ, सुजन श्रेष्ठलगायत १०१ जनाले परिसर टेकुमा जाहेरी दिएका थिए। १०१ जनाको संयुक्त जाहेरीमा अपूर्वले गम्भीर कसुर गरेकाले प्रचलित कानून बमोजि कारबाही गर्न माग गरिएको थियो।
जाहेरीमा लेखिएको थियो, ‘हामी नेवार समुदायलाई, हाम्रो भाषा संस्कृति, परम्परा, रितीरिवाज, रहन–सहन, समेतलाई अमानवीय व्यवहार गरी सामाजिक रित, स्थितीमा खलल पार्ने, हाम्रो सम्प्रदायलाई होच्याउने, घृणा गर्ने, द्वेष उत्पन्न गराउने, अपमानजनक र भेदभावपूर्ण व्यवहार गर्ने र समुदायमा उत्तेजना फैलाइ गम्भीर कसुर गरेकाले कानुन बमोजिम कारबाही गरी पाउँ’ भनि उल्लेख गरिएको थियो।
‘नेवारी खानाका परिकारलाई लिएर धज्जी उडाउने, वेल विबाह जस्तो पवित्र धार्मिक संस्कृतिलाई जोडेर नारीको अस्मितामाथि प्रहार गरी तपाईंको श्रीमान् मरि सक्यो, तपाईंको श्रीमान् त दराजमा छ, श्रीमान् त मक्किसक्यो, कुहिसक्यो, विधुवा भइसक्यो, चुरा फुटाउनु भनेर तल्लो स्तरमा देखाउने, नेवाः समुदायले आफ्नो न्यू ईयर आफैं गर्दै छ, नेवार समुदायमा ईफिरिटी कम्प्लेक्स छ, आफ्नो पूजा आफैं गरेर म:पूजा गर्दै छ, नेवारहरु चोर हो। नेवार केटीहरुले बाटोमा हिँड्ने केटाहरुलाई देख्ने वित्तिकै आई लव यु भनी मनपरी गरी हिड्छ भनी महिलाको आत्मसम्मानमा चोट पुर्याइ चरित्रमाथि दाग लगाउने काम भएको छ,’ जाहेरीमा लेखिएको छ।
जाहेरी परेपछि प्रहरीले अपूर्वलाई हिरासतमा लिएर ४ वटा कसुरमा मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद–१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ अन्तर्गत सामाजिक रितिस्थितिमा खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुर गरेको दाबी गरिएको थियो।
अपूर्व भन्छन्– हँसाउने बाहेक अरु नियत थिएन
४ वटा कसुरमा प्रतिवादी बनाइएका अपूर्वले हँसाउने बाहेक आफ्नो अरु नियत नभएको बताएका छन्।
प्रहरीसमक्ष अपूर्वले दिएको बयान यस्तो छ:
मैले यसभन्दा अगाडि पनि विभिन्न स्थानहरुमा कमेडी कार्यक्रमहरु संचालन गर्दै आएको थिएँ। सोही क्रममा असार ३१ गते वत्तीसपुतलीस्थित ग्य्रासिया सेन्टरमा दिएको पर्फमेन्सलाई मैले भदौ १० गते युट्युबमा अपलोड गरेको थिएँ।
उक्त भिडियोको बिषयलाई लिएर सामाजिक सञ्जालहरुमा विरोध भएकोले भदौ ११ गते हटाए। उक्त कार्यक्रमको भिडियोमार्फत् मैले नेवार समुदायहरुको भाषा, धर्म, संस्कृति परम्परा, प्रथा, रितिस्थिती, रहनसहन समेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सदभाव तथा सम्प्रदाय खल्बल्याइ जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य गरेको छैन।
हँसाउने उद्देश्यका साथ मैले श्रीमान् मरि सक्यो, तपाईंको श्रीमान् त दराजमा छ, श्रीमान् त मक्किसक्यो, कुहिसक्यो, विधुवा भइसक्यो भनेर प्रयोग गरिएका शब्दहरुमा आपत्ति जनाउँदै प्रहरीमा उजुरी परेको रहेछ। त्यसपछि भदौ १२ गते नयाँ बानेश्वरबाट प्रहरीले मलाई पक्राउ गर्यो।
मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, रितिस्थिती, रहन सहन समेतको बिषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्वल्याइ जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्दहरु प्रयोग गरेको होइन। मैले मनोरन्जनका लागि मात्र उक्त शब्दहरु बालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।