मुम्बई– यदि तपाईं टिभी हेर्नुहुन्छ भने, चिसो पेय पदार्थ पेप्सीको विज्ञापन देख्नुभएको होला! शाहरुख खान अभिनित सो विज्ञापनमा उनीसँगै अर्को सुन्दर युवा देखिन्छन्। उनी हुन्, नेपालीभाषी युवा निक सिंह।
हेर्दै ‘ह्यान्डसम’ देखिने निकको हाँसोमा करोडौंको जादू छ। यो कुरा उनलाई ‘म्याकडोवल’ मदिराको विज्ञापन गर्ने बेला बलिउडका अर्का अभिनेता सैफ अलि खानले भनेका हुन्। दार्जिलिङको खर्स्याङस्थित सानो बजारमा जन्मिएका प्रविन सिंह नै अहिले बलिउडमा निक सिंहको नामले चर्चित छन्। उनको अहिलेको शानसौकत हेर्दा कसैलाई लाग्दैन, उनले सानोमा धेरै दुःख पाए भनेर।
उनले मात्र होइन, आमा दलित भएका कारण पूरै परिवारले दुःख झेल्नुपरेको थियो। निकका बुवा प्रदीप प्रधान हुन्। बुवाले दलित परिवारको छोरी बिहे गरेको निहुँमा गाउँका स्वघोषित उपल्लो जातिका ठालू भन्नेहरुले बस्न नदिएपछि परिवारले नै गाउँ छोड्नुपर्यो।
बुवा यसपछि ससुरालीमा बसेको पुरानो कुरा खोतल्दै उनले भने, ‘बुवा पैसावाला भएको भए समाजले जातकै आधारमा हामीलाई यसरी गाउँबाट लखेट्दैन थियो होला।’
जन्मिनुअघि नै समाजबाट आफू तिरस्कृत भएकोमा उनी अहिले पनि स्तब्ध छन्। समाजको कुरीतिप्रति व्यंग गर्दै उनी भन्छन्, ‘यसमा मेरो बुवाआमा र मेरो के दोष थियो होला।’ उनी एक्काइसौं शताब्दीमा आफूले पाएको दुःख अरु कसैले नपाओस् भनेर प्रार्थना गर्छन्। घरको नाजुक स्थितिले सानोमा निकको अवस्था दयनीय थियो, जब घरमा दिदी र उनको जन्म भयो। परिवारका लागि उनलाई पढाउनु धेरै ठूलो कुरा थियो। खान समेत धौधौ पर्थ्यो।
यस्तैमा उनले आफ्नो ठूली आमाको घरमा बसेर १२ कक्षासम्मको पढाइ पूरा गरे। पढाइकै क्रममा एकदिन उनले वैदेशिक रोजगारीको विज्ञापन देखे। र, परिवारको आर्थिक स्थिति सुधार्न पढाइ बीचमै छाडेर बहराइन लागे।
उनले बहराइनको ५० डिग्रीको गर्मी छिचोलेर काम गरेपछि घरको अवस्थामा केही सुधार आएको थियो। यसले उनलाई जस्तो अवस्थामा पनि दुःख गर्न सिकायो।
‘अहिलेसम्म मैले मुम्बईमा ५० भन्दा बढी विज्ञापन खेलिसकेको छु,’ उनले भने। बहराइनबाट छुट्टीमा घर फर्किंदा उनकी फुपूले निकै उक्साएकी रहिछन्, ‘यति ह्यान्डसम छस्, किन बलिउडमा ट्राई नगर्ने।’
उनलाई पनि बलिउडको मोहले तानेछ। यसपछि बहराइनको जागिर हापेर उनी फुपूसँगै मुम्बई लागे। फुपूको छोरी न्यान्सी जेम्स हिन्दी सिरियल ‘माता कि चौकी’ मा मुख्य कलाकारको भूमिका निर्वाह गर्थिन्।
त्यसैले उनले बलिउडमा काम गर्ने तौरतरिका न्यान्सीबाट सिके। ‘उहाँ मेरो पोर्टफोलियो बनाएर सयौं ठाउँमा मेरो प्रोफाइल पठाउनु हुन्थ्यो। म धेरै ठाउँमा काम माग्न दौडिएको छु,’ उनले मुम्बईमा गरेको दुःख सम्झिए। उनले मुम्बईमा पनि आफन्त र साथीभाइबाट धोका पाए।
‘पछि म सबैलाई छोडेर भारतीय साथीसँग एउटा अँध्यारो कोठामा बस्ने गर्थें,’ उनले भने। अडिसनमा हिँड्दाहिँड्दा बल्ल उनले कोला कम्पनीमा विज्ञापन गर्ने अवसर पाए।
अहिले उनीसँग कामको कुनै कमी छैन। उनले फेन्टा मात्र होइन, एयरटेल डिस, क्लोज अप, पोपकर्न, लेज, नोकियो फोन, फ्रुटी आदिमा विज्ञापन गरिसकेका छन्।
उनले सैफ अलि खानसँग लेजमा पनि अभिनय गरेका छन्। ‘नेपाली मूलको भएर जन्मिन पाएकोमा गर्व गर्छु,’ उनले भने।
उनी अभिनय मात्र होइन, गितारका पनि सौखिन हुन्। संगीतका सातवटै सुर उनले बुझेका छन्। उनलाई नेपाली गीत ‘जे गर जसो गर... यो मन त मेरो नेपाली हो’ गीत खुब मनपर्दो रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।