फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतारापूर्ण बन्ने अवस्था रहेको बताएका छन्। बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाले प्राकृतिक श्रोत साधनको संरक्षण, संवर्द्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताए। अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको दाबी गरे। प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्याउन सकिने उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पुर्याउने गरी काम गर्न आवश्यक रहेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए।
उनले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मानिसको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायहरुलाई आग्रह गरे।
वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि देउवाले सम्बन्धित निकायलाई आग्रह गरे। प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटीकीय सेवाहरुको स्तरोन्नतीमा जोड दिन आवश्यक रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।