काठमाडौं– खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती प्रदेश, रामेछाप मन्थलीका इन्जिनियर र प्लम्बर २८ लाख रुपैयाँ ‘घुस’ सहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखत बहादुर थापालाई नगद र चेक गरी २८ लाख रुपैयाँ बराबर घुससहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट नगद १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेक बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार उनीहरुले खानेपानीसम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेका थिए।
पूर्व सूचना एवम् उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले दुवै जनालाई रामेछापको मन्थलीस्थित इन्जिनियर सत्यालको निवासबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।