काठमाडौं– मधेसी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेसीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
राष्ट्रपति कार्यालयमा पेस गरिएको आयोगको चौंथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेसीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत् चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेसी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृतिमाथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरुलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिस आयोगले जानकारी गराएको छ।
जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आयोगले सिफारिस गरेको छ।
आयोगले सप्तरी जिल्लाको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्वर्द्धन, नेपाल-भारत सीमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याहरुको यथाशीघ्र निवारण, मिथिला पेन्टिङको अन्तर्राष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न लगायत विभिन्न विषयहरू सिफारिस गरेको छ।
आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगमा आएको उजुरीउपर आयोगले तुरन्त प्रकृति हेरेर समाधान गर्नतर्फ लागेको र कतिपय उजुरीको अनुगमनमा आफैं पुगेर स्थानीय प्रहरी-प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।