पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ।पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष–महिला दौडमा २ कीर्तिमान बनेका हुन्।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन्।
उनले सन् १९९० मा चिनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन्। चौधरीले ४८.३२ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए।
सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। त्रिभुवन आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन्। उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन्।
तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्। आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए। थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दूरी पूरा गर्दै पदक जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।