काठमाडौं- प्रहरी वृत्त कालिमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलकुमार घिमिरले ‘पूर्ण शान्ति पुरस्कार’ पाएका छन्।
सोमबार ६७औं प्रहरी दिवसको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीएसपी घिमिरेलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे।
पूर्वआईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तिदेवी खवासले स्थापना गरेको यो पुरस्कार जोखिम मोलेर काम गर्ने प्रहरी अधिकारीमध्ये एक जनालाई प्रदान गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो पुरस्कार वर्षमा एक जनाले मात्र पाउँछन्।
कुल ५० हजार राशिको यो पुरस्कारमा २५ हजार नगद प्रदान गरिन्छ भने २५ हजार बराबरको मेडल दिने गरिन्छ। डीएसपी घिमिरे राष्ट्रियस्तरमा संवेदनशील अपराधमा देश तथा अन्तरदेशमा लुकेर बसेका अपराधीहरूलाई नियन्त्रण लिई कानुनी कठघरामा ल्याएर नेपाल प्रहरीमा व्यवसायिक र अब्बल प्रहरी अधिकृतको छवि बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।