काठमाडौं– सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार रहेका राजु गुरुङको मुद्दामा कात्तिक २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
आइतबार पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो। दुवै पक्षको कुरा सुनेर मात्र विवादको निरुपण गर्नुपर्ने देखिएको सर्वोच्चको आदेशमा भनिएको छ।
सर्वोच्चले उक्त अवधिसम्मका लागि निर्वाचन अधिकृतको कार्यालयले असोज २५ मा गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्नू र हाललाई यथास्थानमा राख्नू भनेको छ। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसँगै गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न पनि आदेश गरेको छ।
सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि उनको खारेजी प्रारम्भिक रुमपा कानुनसम्वत नदेखिएको ठहर भएको छ। सर्वोच्चले अन्तरिम खारेज नगरेसम्म उनको उम्मेदवारी कायमै रहने छ। अर्को ३ दिनपछि इजलासले पेसी नै तोकेको छ।
त्यस्तै, मुद्दालाई अग्राधिकार पनि दिएको छ। बुधबार हुने सुनुवाइमा दुवै पक्षबाट बहस हुने छ। संयुक्त इजलासमा हुने बहसमा अन्तरिम आदेश निरन्तर भएमा उनी मंसिर ४ गतेका लागि उम्मेदवार कायम हुने छन्। यदि खारेज गरेमा भने उनको उम्मेदवारी खारेज सदर हुने छ।
रुपेन्दही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध एकीकृत समाजवादी पार्टीका उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए।
उनीविरुद्ध बैंकिङ कसूरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन कार्यालयले खारेज गरेको थियो। उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।