तस्बिर : मनिष अर्याल/नेपाल लाइभ।
ललितपुर– प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन्।
जोशीको शव अन्तिम श्रद्धाञ्जलीका अहिले ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको छ। उनको शव साँझ ५ बजेसम्म महानगरकै प्राङ्गणमा राखिनेछ।
प्रधानमन्त्री देउवाले जोशीको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। उनीसँगै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि जोशीलाई श्रद्धाञ्जली दिए।
१०३ वर्षीय जोशीको उपचारका क्रममा आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो।

बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। सुरुमा केही सुधार देखिए पनि पछिल्लो केही दिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएको थियो।
जोशीको शवलाई आइतबार साँजै पुनः किस्ट अस्पतालमा लगेर हस्तान्तरण गरिनेछ। आफ्नो शरीर मृत्युपर्यन्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गर्ने जोशीको घोषणा अनुसार नै शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको ललितपुरका मेयर महर्जनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।