डडेल्धुरा–आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ।
शनिबार दुवै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा जाने जनाएका हुन्। प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।
सत्ता गठबन्धनबाट असन्तुष्ट एकीकृत समाजवादीका नेता डाक्टर तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरे पनि जोशीलाई समाजवादी जिल्ला कमिटीले समर्थन गरेको छ।
जसअनुसार समाजवादीले कांग्रेस बीपीसँग तालमेल गरेको हो। समाजवादी र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।
यसअघि नेकपा एमालेसँग पनि चुनावी तालमेलको सहमति गरिएको थियो, तर शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस बीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो।
बीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लले भने केन्द्रमा आफू र प्रदेश ‘क’ मा एमालेसँग तालेमल गर्ने र प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशीलाई सघाउने भन्ने कुरा भएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।