काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो।
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने २ वर्ष अगाडि नै घोषणा गरेका थिए।
जोशीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने चाहना अनुसार नै शव नजनाएले परिवारले जनाएको छ।
शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको सो बेला बताएका थिए।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबिच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।
‘ललितपुर महानगरपालिकाले गरेको कार्यक्रममा वहाँहरूले शरीर दान गर्ने घोषणा गरेको थियो’ ललितपुरका मेयर चिरिबाबु महर्जनले भने, ‘त्यही घोषणा अनुरूप नै उहाँको शरीर नजलाउने अनुमति परिवारले दिएको हो।’
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।