काठमाडौं– सरकारले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदबाट हटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बिहीबार पदमुक्त गरेकी छन्।
यसरी पदमुक्त हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव छन्।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवालाई नै दिइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले बताएका छन्।
जसपा नेता उपेन्द्र यादवले सत्तारुढ गठबन्धनमा रहँदारहँदै प्रमुख विपक्षी नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमंत्री देउवाले उक्त दलका मंत्रीहरुलाई सरकारबाट बर्खास्त गरेका हुन्।
साथै, निवर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सम्हालेको मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।
कोइराला गत चैत २४ गते नेपालको संविधानको धारा ७८ बमोजिम मन्त्री नियुक्त भएका थिए। उनले संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेपछि असोज २३ गते राजीनामा दिएका थिए। गैरसांसद व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।