काठमाडौं– वाणिज्य बैंकले कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढाउने गरी छलफल अघि बढाएका छन्।
वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर्स संघको अनौपचारिक छलफलमा कात्तिक महिनामा ब्याजदर नबढाउने निर्णयमा सबैको सहमति भएको एक बैंकरले जानकारी दिए।
ती बैंकरका अनुसार असोज महिनामा बैंकहरुले बढाएको ब्याजदरप्रति व्यापारी–व्यवसायी लगायत सबैले असन्तुष्टि जनाएका छन्। ब्याजदर बढ्दा पनि बैंकमा निक्षेप नबढ्ने निश्चितजस्तो देखिएपछि बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णयको नजिक पुगेका हुन्।
बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले भने अहिले नै ब्याजदर बढाउने वा के गर्ने भन्ने निर्णय नभएको बताए । शर्मा भन्छन्, ‘आज छलफल भएको छ। छलफलबाट औपचारिक निर्णय आउन बाँकी छ। शुक्रबारसम्म निर्णय आउन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।