काठमाडौं- नेकपा एमालेका नेता तथा निवर्तमान सांसद भीम रावलले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालको एमालेबाट भएको बहिर्गमनलाई अन्यायको प्रतिक्रियाको रुपमा अर्थ्याएका छन्। अन्यायपूर्ण कुरा गरेपछि कहिलेकाहीँ विद्रोह हुने उनको भनाइ छ।
मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा पार्टीबाट टिकट नपाएका कारण उम्मेदवार नभएका रावलले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यहाँ उनलाई भुसालको बहिर्गमनको विषयमा सोधिएको थियो। ‘उहाँको त्यो स्वतन्त्रताको कुरा हो। तर, उहाँको सन्दर्भमा एउटा कुरा अत्यन्त मार्मिक छ’, रावलले भने।
भुसाल सिफारिस भएको क्षेत्र रुपन्देही- ३ मा एमालेले राप्रपाका उम्मेदवार दीपक बोहोरालाई सघाएको छ। भुसाल स्थायी कमिटी सदस्य पनि भएको र झण्डै पाँच दशक पार्टीमा काम गरेको व्यक्ति भएको भन्दै उनलाई टिकट नदिएकोमा रावलले असन्तुष्टि व्यक्त गरे।
‘हिजो जुन व्यवस्थाका विरुद्ध हामी लड्यौँ, जुन व्यवस्थालाई हामीले निर्दलीय र निरंकुश भन्यौँ। त्यो व्यवस्थाका एउटा प्रमुख पात्रलाई उम्मेदवार बनाउँदा कुन नेकपा एमालेका कार्यकर्ता, कुन नेपाली जनताले त्यो पाइला ठीक छ भन्न सक्ला? कसले त्यो कुरा ठीक भन्न सक्ला?’, रावलले प्रश्न गरे।
आफू भने पार्टीमै रहने तर भुसालको बहिर्गमनलाई किन स्वाभाविक भनेको भन्ने अर्को प्रश्नमा रावलले अत्याचार भयो भने सबै मान्छे चुप लागेर बस्दैनन्, आफ्नो परिवेश अनुसार, आवश्यकता अनुसार, पाइला चाल्छन् भनेको बताए।
‘मैले पनि भनेको छु नि, राष्ट्रिय राजनीतिको गति र मति अनुसार पाइला चाल्नेछु। त्यसैले आ-आफ्नो परिवेश हुन्छ। उहाँ जस्तो नेतालाई निर्वाचनको उम्मेदवार नबनाएर, पञ्चायतकालमा त्यही क्षेत्रका जनताले अस्वीकृत गरेको मान्छेलाई लिँदा यहीँबाट सोध्नुन् त त्यहाँका जनताले के भन्छन्। मैले त्यो भनेको हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।