काठमाडौँ- केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको छ।
बैठकमा मुख्यगरी केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्याएको क्षति र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ।
बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए।
त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको थियो। बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए।
बैठकमा गृहमन्त्री खाँणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।
मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधि सहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ। त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।