काठमाडौं- नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गेजेन्द्रप्रसाद तुम्याहाङले गठबन्धन रहर नभएर बाध्यता भएको बताएका छन्। उनी ताप्लेजुङको प्रदेश सभा 'क' का आकांक्षी थिए।
गठबन्धनले उक्त क्षेत्रमा एकीकृत समाजवादीका खेमकुमार वनेमलाई उम्मेदवार बनाएपछि तुम्याहाङले असहमति जनाउँदै असोज २३ गते उम्मेदवारी दर्ता गराएका थिए।
पार्टी केन्द्रले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएपछि उनले उम्मेदवारी फिर्ता लिए। उम्मेदवारी फिर्तापछि बुधबार एक विज्ञप्ति जारी गर्दै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन्।
'गठबन्धन गर्न रहरभन्दा पनि बाध्यताको उपजको रुपमा बुझिदिनु पर्ने परिस्थिति सिर्जना भएको छ। यसै रुपमा बुझिदिनु हुन आग्रह गर्दछु,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
तुम्याहाङले आफ्नो उम्मेदवारी फिर्ता भएपछि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन्।
प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) उम्मेदवार रहेका छन् भने प्रदेश सभा 'क' बाट वनेम र प्रदेश सभा 'ख' बाट कांग्रेसका खगेनसिंह हाङ्गाम उम्मेदवार रहेका छन्।
यस्तै, एमालेबाट पूर्वमन्त्री तथा पार्टी सचिव योगेशकुमार भट्टराई उम्मेदवार छन्। प्रदेश सभा 'क' मा स्थायी कमिटी सदस्य तिलकुमार मेन्याङ्बो र प्रदेश सभा 'ख' बाट गोपाल थोप्राको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।