काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आफूलाई सभापति शेरबहादुर देउवाले नै काठमाडौं- ४ बाट प्रतिस्पर्धा गर्न भनेको बताएका छन्।
सो क्षेत्रबाट उम्मेदवार बन्ने तय भएका कांग्रेस महामन्त्री गगन थापाको टिकट बालुवाटारबाट महरले लगेको समाचार नेपाल लाइभमा सार्वजनिक भएको थियो।
थापाले सर्लाही-४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेको चर्चाकाबीच महरले काठमाडौं-४ को टिकट लिएका थिए। जबकि, उनी कैलालीबाट सिफारिस भएका थिए। त्यस्तै, काठमाडौं- ३ र काठमाडौं- ५ का लागि तयारी पनि गरिरहेको उनको भनाइ छ।
नेता महरले नेपाल लाइभसँग भने, ‘३/४ दिन अगाडि सभापतिले बोलाएर तँलाई काठमाडौं- ४ मा लडाउँछौं। तैंले लड्नुपर्यो, गगन उता (सर्लाही) जान्छ भनेपछि मैले ठीकै छ नि भनेको हुँ। शनिबार साढे ६ बजेतिर सभापतिजीले फोन गर्नुभयो। ल यता आउनुहोस् भन्नुभयो। आफ्नो तयारी गर्न भन्नुभयो। टिकट लिएर जा भन्नुभयो। मुख्य सचिवज्यूलाई भनिदिनुभयो।’
उनले त्यतिबेला गगन थापा पनि छेउमै रहेको र आफूले हात मिलाएको बताए। ‘मलाई त दुवैको कुरा भइसकेको होला जस्तो लागेको थियो’, उनले भने।
नेता महरले महामन्त्री आफैंमा संसदीय बोर्डको मान्छे भएको बताउँदै उनैले काठमाडौं- ४ बाट निर्वाचन लड्छु भन्दा आफूले लफडा गर्ने काम नभएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।