काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं- ४ बाट प्रतिस्पर्धामा उत्रिने भएका छन्। तर, शनिबार भने उनी सर्लाही-४ बाट उठ्ने भनेर चर्चा भएको थियो।
थापा सर्लाही जाने चर्चा भइरहेको बखतमा थापाका लागि दिन तयार गरिएको काठमाडौं-४ को टिकट प्रधानमन्त्री निवास बालुवाटारबाट हराएको पाइएको छ। थापा निकट एक नेताका अनुसार उनको क्षेत्रको टिकट नेता नैनसिंह महरलाई दिइएको थियो। ।
थापा आइतबार आफ्नो लागि तयार पारिएको टिकट लिन बालुवाटार पुग्दा टिकट भेटेनन् नै, अर्कै नेताले लगीसकेको पनि थाहा पाए। त्यसपछि उनको सचिवालयले त्यसको खोजी गरेको थियो।
उम्मेदवारी मनोनयन गराउन सम्बन्धित पार्टीका प्रमुखले हस्ताक्षर गरेको पत्र आवश्यक हुन्छ। 'बल्ल १ बजेतिर काठमाडौं-४ को टिकट पायौँ। अब साढे ३ बजे उम्मेदवारी दर्ता गर्न जाँदैछौँ', थापाकाे सचिवालयका एक सदस्यले भने।
थापा २०७० र २०७४ को निर्वाचनमा काठमाडौं- ४ बाट निर्वाचित भएका थिए।
नेपाल लाइभसंग कुरा गर्दै कांग्रेसका युवा नेता महरले भने महामन्त्री थापाले सर्लाही ४ बाट उम्मेदवारी दिने भनिए पछि पार्टी सभापतिले आफुलाई बोलाएर काठमाडौँ - ४ को टिकट दिएको बताए। "यसबारे महामन्त्री थापालाई पनि थाहा छ। मैले टिकट हडपेको भन्ने आरोप गलत हो। मलाई दिइएको टिकट फिर्ता गर्न लगाइयो। अहिले मलाई नै आरोप लगाउनु सरासर गलत हो,' उनले भने।
(सम्पादकीय टिप्पणी: कांग्रेस नेता महरसंगको कुराकानी पछि यो समाचार अद्यावधिक गरिएको छ। सं.)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।