काठमाडौं– कानुन व्यवसायीको पृष्ठभूमिबाट गैरसांसदको रुपमा मन्त्री भएका गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी)को ६ महिने कार्यकाल सकिएको छ।
कानुनमन्त्रीका रुपमा गत चैत २४ गते नियुक्त भएका उनको ६ महिना पुगेसँगै आइतबार पदबाट बाहिरन लागेका हुन्। आफूले मन्त्रीका रुपमा गरेका कामका बारेमा जानकारी दिन आइतबार दिउँसो पत्रकार सम्मेलन राखेको र आफ्ना कुरा त्यहीँ बताउने मन्त्री बन्दीले बताए।
उनलाई संक्रमणकालीन न्याय लगायत अन्य कानुनी विषय मिलाउने भन्दै सरकारमा सहभागी गराइएको थियो। बन्दीले सातै प्रदेशमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनको मस्यौदा छलफल गराउँदै संसद्सम्म पर्याएका नि थिए। तर, प्रतिनिधि सभामा पुगेको विधेयकमा प्रमुख प्रतिपक्षसहित अन्तर्राष्ट्रिय रुपमा आलोचना भएपछि समितिमा पठाइएको थियो।
प्रतिनिधि सभाको मानव अधिकार समितिमा पुगेको विधेयकमा सत्तारुढ दल र एमालेकाबीचमा कुरा मिल्न नसकेपछि अलपत्र भएको थियो। त्यस्तै, उनले नागरिकता सम्बन्धी विधेयक पनि संसद्मा पुर्याएका थिए। उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको छ।
उनले न्याय परिषद्को सदस्यको रुपमा भने केही काम गरे। न्यायाधीश नियुक्तीको मापदण्डदेखि परिषद्मा परेका उजुरीहरुमाथि कारबाही गर्ने काम सुरु गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।