काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन नलड्ने घोषणा गरेका छन्। शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्णयले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्तसञ्चार गर्ने आशा व्यक्त गरे।
सापकोटाले आफूले लगातार तीनचोटी जितेको र अहिले पनि जित्नका लागि कुनै कठिनाइ नभएको प्रष्ट पारे।
‘जित्ने कुरा सुनिश्चित नै हुन्थ्यो। संगठनात्मक आधारको कुरा गर्दा पनि, गठबन्धनको कुरा गर्दा पनि जित सुनिश्चित थियो’, उनले भने, ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ भनेर अहिले चारैतिरबाट आवाज उठिरहेको छ। त्यो एक भयो। अर्कोतिर मलाई नै के लाग्यो भने, नेतृत्व विकासका लागि यो नै सही राम्रो निर्णय हो।’
सापकोटाले सभामुखको पदावधिबारे अदालतले निर्क्योल गर्ने बताए। त्यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘धेरै टिप्पणी गर्नु आवश्यक देख्दिनँ। किनभने अदालतमा मुद्दा परेको छ। अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। त्यहीँबाट बहस होला। त्यहीँबाट निर्क्योल होला लाग्छ मलाई।’
उनले देश र जनताको अधिकतम हितका लागि सधैंभर समर्पित हुने बताए। ‘जिन्दगीको अन्तिम घडीसम्म सक्रिय रहिरहन्छु। देश र जनताका लागि। त्यो कुरा मेरो प्रतिबद्धता हो। दृढ इच्छाशक्तिको साथ अगाडि बढ्छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।