काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।
बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिएको छ।
प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रुप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बताए।
सिट बाँडफाँटका बारेमा प्रतिनिधि सभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उनले जानकारी दिए। आजको शीर्ष नेतृत्वले प्रतिनिधि सभा र प्रदेश सभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ। यस सम्बन्धमा छलफल गर्न सोमबार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो।
बैठकलाई निष्कर्षमा पुर्याउन आज बिहान दलहरुका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ-आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।