धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने ‘इच्छा’ जाहेर गरेका छन्। मुख्यमन्त्री भट्टले पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेरै आफूलाई प्रदेश सभा प्रत्यक्षतर्फको टिकट दिन आग्रह गरेकाे भट्टनिकट माओवादी नेताहरुको भनाइ छ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रदेश सभामा चुनाव नलड्ने बताएका थिए। प्रदेश सभामा चुनाव नलड्ने भनेपछि गृहजिल्ला डोटीबाट उनी प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको रुपमा सिफारिस भएका थिए।
तर, अहिले फेरि प्रदेश सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना राखेपछि माओवादी केन्द्र डोटीमा विवाद उत्पन्न भएको छ।
माओवादी केन्द्र डोटी जिल्ला समन्वय समितिले गत भदौ २२ गते प्रतिनिधि सभा उम्मेदवारका लागि भट्टको नाम एकल रुपमा सिफारिस गरेको थियो। यस्तै, समानुपातिक तर्फ (खसआर्य) मा उनको नाम पहिलो नम्बरमा नै सिफारिस गरिएको थियो।
२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली कांग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए। भट्टले १६ हजार ९१ मत प्राप्त गरेका थिए भने कांग्रेसका शाहीले १३ हजार ५९५ मत प्राप्त गरेका थिए।
यसपटक पनि भट्ट डोटी प्रदेश सभा (ख) बाट उम्मेदवार हुन खोजेका हुन्। माओवादी केन्द्र डोटीले भने प्रदेश सभा (ख) का लागि सिव सिंह ओली, मिनबहादुर घर्ती र प्रेम कुँवरको नाम सिफारिस गरेको छ।
सत्ता गठबन्धनमा जुटेको ‘सहमति’अनुसार प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीबाट प्रेम आले प्रतिनिधि सभा उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ। प्रदेश सभाका २ सिट भने कांग्रेस र माओवादी केन्द्रले ‘बाँड्ने’ सहमति भएको छ।
‘प्रदेश सभातर्फ पनि हामीले कुन क्षेत्र पाउने भन्ने अहिले नै यकीन भइसकेको छैन। तर, मुख्यमन्त्रीज्यूले ‘ख’ बाट म उम्मेदवार हुन्छु भनेर अहिले भन्दै आउनुभएको छ। पहिले प्रदेश सभामा उम्मेदवार हुन्नँ भन्ने अहिले फेरि उम्मेदवार हुन्छु भनेर उहाँले भन्दा सिफारिसमा परेका साथीहरुको पनि असन्तुष्टि छ। उहाँका कारण नयाँ विवाद सिर्जना भएको छ,’ माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारीले भने।
पार्टीले नै ‘असक्षम मुख्यमन्त्री’ भनेका भट्ट
सर्वोच्च अदालतको फैसलानुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भइ नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत: अवस्थामा फर्किँदा माओवादी केन्द्र र एमालेको नेतृत्व रहेका धेरै प्रदेश सरकार फेरिए।
६ वटा प्रदेशमध्ये ५ प्रदेशका सरकार फेरिँदा तत्कालीन नेकपाको सरकारको ‘लिगेसी’ का रुपमा भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रुपमा निरन्तरता पाए। कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन बन्दा पनि उनी सरकारबाट बाहिरिनु परेन।
तर, मुख्यमन्त्री भट्टको कामप्रति भने उनको दल (माओवादी) देखि अरु सत्तापक्षीय र विपक्षी दल पनि सन्तुष्ट छैनन्। एम्बुलेन्सदेखि अन्य खरिद प्रकरणमा अनियमितता गरेको, जनपक्षीय काम नगरेको भन्दै माओवादी केन्द्रकै नेताहरुले उनको आलोचना गर्ने गरेका छन्।
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले त भट्टको कार्यकालमा कुनै पनि जनपक्षीय काम नभएको भन्दै उनलाई ‘असक्षम’ मुख्यमन्त्री करार गरेर लिखित निर्णय नै गरेको थियो।
‘उहाँको चाहना फेरि उम्मेदवार बन्ने छ। तर पूरा कार्यकाल ५ वर्ष सरकारको नेतृत्व गर्दा पनि कुनै जनपक्षीय र पार्टीले प्रचार गर्न लायक काम गर्न नसकेको व्यक्तिलाई पार्टीले फेरि उम्मेदवार बनाउला भन्ने लाग्दैन। उहाँले चाहँदैमा उम्मेदवार हुने भन्ने पनि होइन,’ माओवादी केन्द्र, जिल्ला समन्वय समिति डोटीका एक सदस्यले भने, ‘गठबन्धनमा भागबण्डा हुँदा प्रदेश सभामा एउटा सिट हामीले पाउने भन्ने छ। त्यो सिटमा जित हासिल गर्नेगरी जनपक्षीय उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने हाम्रो माग हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।