काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’
आगामी प्रदेश तथा प्रतिनिध सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। नेसपाका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) बाट चुनावमा उठ्ने पनि सहमति भएको छ।
गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरेका छन्। प्रचण्डले बाबुरामसँगकै सल्लाहमा चितवन–३ छाडेर गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको सत्ता गठबन्धन र माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन्।
चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा बाबुरामले गोरखाली जनताले आफूभन्दा पनि अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताए।
‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु,’ बाबुरामले भनेका छन्।
यस्तो छ डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा साझा गरेको सन्देश:
प्रिय गोरखा,
२०६४, २०७० र २०७४ को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही सुरु भएका आयोजना पूरा हुन बाँकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसद्मा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखेँ र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न बडादशैं, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।