काठमाडौं– विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र पार्टीबाट बाहिरिएसँगै उक्त पार्टीमा उनीनिकटका नेताहरुले धमाधम राजीनामा दिन थालेका छन्। मिश्र केही दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष बन्दै राप्रपा प्रवेश गरेका थिए ।
उनी बाहिरिएसँगै दुई दिनको अविधिमा तीन दर्जन बढी नेता कार्यकर्ताले विवेकशील साझाबाट राजीनामा दिएका छन्। शनिबार मात्रै लुम्बिनी प्रदेशका संयोजकसहित ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका थिए।
शनिबार राजीनामा दिएका लुम्बिनी प्रदेशका संयोजकसहित ३१ जना सदस्यले पनि उक्त दस्तावेज खारेज गरिएको प्रति आपत्ति जनाएका थिए।
‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।


लुम्बिनीका प्रदेश संयोजक अनुपमान सैजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रदेश तथा केन्द्रीय सदस्य हरिकृष्ण अधिकारी, महिला विभाग प्रमुख सरस्वती पन्थी भुषाललगायतले राजीनामा दिएका छन्।
यस्तै गण्डकीका प्रदेश संयोजक शुसिला केसी अधिकारी, केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, अर्जुन खनाल र हरिप्रसाद गौतमले राजीनामा दिएका हुन्।
यस्तै केन्द्रीय सदस्य निरुपमा यादवले पनि साधारण सदस्य नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन्। उनले राजीनामाको कारण नखुलाए पनि पाँच वर्षदेखि सक्रिय पार्टीबाट बाहिरिएको घोषणा गरेकी छन्। असोज ११ गते राजीनामा दिए पनि आइतबार मात्रै उनको राजीनामा पत्र सार्वजनिक भएको छ।

यस्तै केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन्। उनले असोज ४ गते राजीनामा दिए पनि विवेकशील साझा पार्टीको भाइबर ग्रुपमा उनको राजीनामा पत्र आइतबार सार्वजनिक भएको हो।

यतिबेला मिश्र निकट विवेकशील साझाका केन्द्रीय सदस्यदेखि जिल्लास्तरका नेताले धमाधम राजीनामा दिइ रहेका छन्। मिश्रले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गर्ने निर्णय गरिएसँगै उक्त पार्टीबाट बाहिरिने लहर चलेको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका संयोजक दिनेश राज भण्डारीले पनि राजीनामा दिएका छन्। पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक धनपति महतोले पनि राजीनामा दिएका छन्। महतोले रवीन्द्र मिश्र पार्टीबाट बाहिरिएसँगै आफूले पनि राजीनामा दिएको उल्लेख गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।