काठमाडौं– विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथी देश’ दस्तावेज खारेज गरेको छ।
पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण तथा ‘पब्लिक सर्भिस डेलिभरी’को आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको उक्त पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।
बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।
विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाइएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरीत गतिविधिमा संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ।
यसैगरी बैठकले पार्टीभित्र देखा परेको वैचारिक असहमतिका कारण विगतदेखि नै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई विवादस्पद र घातक दस्तावेज ‘विचारभन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुनः सकृय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।