काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएको बताएका छन्।
शनिबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले ढोडको लौरो टेक्ने पार्टी होइन। यो आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी हो। त्यसैले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यो देशको एक मात्र राष्ट्रिय पार्टी एमाले भएको दाबी गरे। उनले राष्ट्रिय पार्टी भएकै कारण एमालेप्रति सबैको आकर्षण भएको र विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर चलेको बताए।
यस्तै ओलीले निर्वाचन लड्ने आँट एमालेसँग मात्र भएको बताए। उनले रिले रेस मात्र नभइ एमाले म्याराथन दौडिने पार्टी भएको दाबी गरे। उनले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो।’
एमालेको अजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने ओलीले विश्वास व्यक्त गरेर
यसका साथै उनले निर्वाचनमा केही सिटमा विचार मिल्ने पार्टीसँग सहकार्य कायम रहने जानकारी दिए। सरकारप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले कामचलाउ भएको र संसद् नभएका बेला दूरगामी महत्वका अध्याधेश ल्याएर गलत काम गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।