काठमाडौं- राजनीतिको खुड्किलो निरन्तर उक्लिनेमा पर्छन्, शेरबहादुर देउवा। २०१७ सालमा राजा महेन्द्रले गरेको 'कु'पछि राजनीतिमा सक्रिय भएका देउवा २०२८ मा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापति बनेका थिए। २०४८ पछिका निर्वाचनमा उनी निरन्तर निर्वाचित हुँदै आएका छन्।
देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए।
देउवाको गृहजिल्ला डडेलधुरामा २०४८ सालदेखि एउटा मात्रै निर्वाचन क्षेत्र रहँदै आएको छ। त्यतिबेला डडेलधुरामा कुल मतदाता ७५ हजार ७८ थिए। तर निर्वाचनमा खसेको सदर मत भने ३४ हजार ७७८ मात्रै थियो। सदर मतको ७०.६५ प्रतिशत मत पाएर देउवाले सानदार ढंगले संसद् यात्रा निश्चित गरेका थिए। त्यतिबेला उनले २४ हजार ५७० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर कलौनीले ६ हजार ६२८ मत मात्रै पाएका थिए। राप्रपा (चन्द)का गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा डडेलधुरामा कुल मतदाता ७८ हजार ५८३ पुगेका थिए। जसमध्ये ३३ हजार ५२३ सदर मत खसेको थियो। त्यतिबेला देउवाको मत र मत प्रतिशतमा कमी आएको थियो। देउवाले २० हजार ७०१ मत अर्थात् ६१.७५ प्रतिशत मात्रै मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले हजार ९६६ मत पाएका थिए। अर्का उम्मेदवार राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए।
२०५६ को आम निर्वाचनमा देउवाको मत थप बढेको देखिन्छ। कुल मतदाता ७५ हजार ९३८ रहेको र सदर मत ४४ हजार २९३ खसेको डडेलधुरामा देउवाले ६४. ६८ प्रतिशत मत पाएका थिए। उनले २८ हजार ६५१ मतसहित जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरी दत्त चटौतले ७ हजार ८४० र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ४ हजार ८९३ मत पाएका थिए।
२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा डडेलधुरामा देउवा तुलनात्मक रुपमा कमजोर देखिएका थिए। उनले निकटतम प्रतिस्पर्धीसँग १ हजार ३६८ मतान्तरले मात्रै जित निकालेका थिए। डडेलधुरामा त्यतिबेला मतदाताको संख्या १ लाख ४०७ पुगेका थियो। जसमध्ये सदर मत ५१ हजार ८६८ थियो। देउवाले २० हजार ५२९ मत मात्रै पाएका थिए। त्यो सदर मतको ३९. ५८ प्रतिशत थियो। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए। एमालेका विक्रम बहादुर शाहीले भने ७ हजार ९८२ मत मात्रै पाए।
सो निर्वाचनमा उनी कञ्चनपुर- ४ बाट पनि उम्मेदवार भएका थिए। त्यहाँ उनले सदर मतको ३६.५६ प्रतिशत मत पाएर जितेका थिए।
२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा डडेलधुरामा देउवाले आफ्नो मत प्रतिशत बढाएका थिए। उनले सदर मतको ५०.५३ प्रतिशत मत पाएका थिए। त्यतिबेला देउवाले २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिस्पर्धी एनेकपा माओवादीका खगराज भट्टराईले १२ हजार ४९३ मत मात्रै पाएका थिए। तेस्रा भएका एमालेका ताराप्रसाद जोशीले ७ हजार १९० मत पाएका थिए।
२०७० को निर्वाचनमा उनी कैलाली ६ बाट पनि उम्मेदवार भएका थिए। जहाँ उनले १६ हजार ४८९ मत पाएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका महेश्वर पाठकले ८ हजार ५६३ पाएका थिए। त्यस्तै, एनेकपा माओवादीकी लिलाकुमारी भण्डारीले ४ हजार ७६४ मत पाएकी थिइन्।
२०७४ मा वाम गठबन्धन हुँदा र जतातै कांग्रेसले पराजय बेहोर्दा पनि देउवा भने विजयी भए। मत प्रतिशत पनि बढाएका थिए। ५१ हजार १२७ सदर मतमध्ये देउवाले २८ हजार ४४६ अर्थात् ५५.६४ प्रतिशत मत पाएका थिए। तेस्रो पटक प्रतिस्पर्धी बनेका माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत मात्रै पाए। तेस्रो बनेका राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७ मत मात्रै पाए।
रोचक त के छ भने, २०६४ को निर्वाचनपछि मात्रै उनले सत्ताको स्वाद लिन पाएनन्। नत्र, बाँकी सबै चुनावले उनलाई मन्त्री वा प्रधानमन्त्रीको रुपमा सत्ताको अंश बनाएको छ। २०४८ मा सांसद् बनेपछि उनी गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ढालेर २०५२ सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्। आफ्नो शासकीय क्षमताका कारण आलोचना खेपिरहने भएता पनि प्रधानमन्त्रीको कुर्सी बेलाबखत देउवाकै निवासतिर धाइरहने अनौठो संयोग नेपाली राजनीतिमा छ।
सार्वजनिक रुपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको भन्दै देउवाले आफ्नो लक्ष्य निर्धारित गरिसकेका छन्। त्यसैले आगामी निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसका लागि नै उनले पार्टीभित्रको दबाबलाई बेवास्ता गर्दै गठबन्धनलाई बलियो बनाउने उद्देश्य राखेका थिए।
[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]
यस शृंखलाका अन्य सामग्रीहरु पढ्नुहोस्- https://nepallive.com/news-list/tags/1994
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।