काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को निर्माणधीन भवन अवलोकन गरेका छन्।
सिंहदरबार परिसरभित्र संघीय संसद्का दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन्।
निर्माणधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिए।
उनले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा पनि ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गरे।
‘अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन,’ उनले भने, ‘केही काम रातिमा गर्नसकिने हुन्छ। एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा श्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस्।२०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ।’
अध्यक्ष तिमिल्सिनाले परम्परागत कार्यशैलीले देशका कुनै पनि आयोजनाको काम सम्पन्न नहुने भएकाले नयाँ सोच र गति आवश्यक रहेको बताए। २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो। हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको सहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।
आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ। कूल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद् प्राचीन स्वरुपमा निर्माण भइरहेको हो।
निर्माणधीन भवन अवलोकनअघि सहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्य प्रगतिबारे जानकारी गराएको थियो।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले बिहीबार भैंसेपाटीमा निर्माणधीन राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, संघीय मन्त्री तथा प्रदेश मुख्यमन्त्री निवासकोसमेत अवलोकन गरी कामलाई गति दिन निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।