काठमाडौं– २०७४ सालको स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार रहेका किशोर थापाले पनि विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्।
पार्टीको केन्द्रीय सदस्य रहेका थापाले पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन्। थापाले असोज ४ गतेको मिति राखेर पार्टी अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्र सार्वजनिक भएको छ। उनले सोही दिन (असोज ४ गते)देखि नै लागू हुनेगरी राजीनामा दिएको उक्त पत्रमा उल्लेख गरेका छन्।
थापाले पार्टी केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको बताएका छन्।
नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापा २०७४ सालको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’को रुपमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धी थिए। नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर महानगरको मेयर निर्वाचित हुँदा थापा भने १८ हजार ४९६ मतसहित चौथो स्थानमा सीमित भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।