पोखरा– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल तथा स्टोरहरु हटाउने अभियान सुरु गरेको छ। महानगरले आफ्नै स्वामित्वमा रहेको सिर्जनाचोकको भवनबाट खाली गराउने अभियान सुरु गरेको हो।
‘महानगरको स्वामित्वमा रहेको भवनको अन्डरग्राउन्डमा यसअघि पार्किङका लागि प्रयोग भएको थिएन, सिलाई कटाइ पसल र स्टोरको रुपमा प्रयोग भएको थियो,’ मेयर धनराज आचार्यले भने, ‘महानगरले खाली गरेर पार्किङकै रुपमा प्रयोग गर्ने योजना बनाएको छ।’
अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेकाले पार्किङकै रुपमा प्रयोग गर्नेपर्ने मेयर आचार्यले उल्लेख गरे। ‘अन्डरग्राउन्ड पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार पनि गरेका थियौं। धेरै जनाले खाली गर्नुभएको छ। केहीले १/२ दिनमा खाली गर्ने भन्नुभएको छ। खाली गरेर मात्रै हुँदैन त्यसलाई पार्किङकै रुपमा प्रयोग गर्नुपर्छ,’ मेयर आचार्यले भने।
दिनानुदिन पार्किङको समस्या बढ्दै गएकोले अन्डरग्राउन्ड पार्किङ आवश्यक रहेको मेयर आचार्यको भनाइ थियो। सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले भदौ १३ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो।
घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरे पनि महानगरका करिब २५० भवनमा अन्डरग्राउन्ड पार्किङको रुपमा प्रयोग भएको छैन।
उनीहरुलाई महानगरले खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार गरिएको महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए। ‘सबैलाई पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार गरेका थियौं, ७० भन्दा धेरै स्थानमा आफैं पुगेका थियौं, धेरै जसो व्यापारिक प्रयोजनका लागि प्रयोग भएको पाइएको छ,’ इन्जिनियर पौडेलले भने।
केही व्यवसायीले अन्डरग्राउन्ड खाली गर्न १/२ दिन समय मागेकाले पूर्णिमासम्म खाली गर्न समय दिएको इन्जिनियर पौडेलले बताए। ‘केहीको ठूला सामानहरु छन्, दशैं पनि आएको छ। खाली गर्न १/२ दिन माग्नु भएको छ,’ उनले भने, ‘पूर्णिमापछि तदारुकताका साथ कार्यान्वयनमा लाग्नेछौं।’
कानुनको अवज्ञा गरी अन्डरग्राउन्ड खाली नगरे महानगरले कारबाही गर्ने पौडेलले बताए। ‘हामीले सूचना दिइसकेका छौं, पत्राचार गरिसकेका छौं, समय पनि दिइसकेका छौं,’ उनले भने, ‘अब पनि नहटाउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नेछौं।’
यस्तै सडक सुरक्षाका लागि महानगरका मुख्य चोकहरुमा सडक बत्तिहरु जडान गरिने योजना बनाइएको मेयर आचार्यले जानकारी दिए। ‘केही समयमै महानगरका मुख्य चोकहरुमा सडक बत्ति जडान गर्दै छौं। जसको टेन्डर प्रक्रिया चलिरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।