हेटौंडा– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहनको लागि विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न नसक्ने बताएका छन्।
उनले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको दाबी गरे। राप्रपा नेपाल केन्द्रिय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको संयुक्त भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
उनले राष्ट्रियताको सम्बर्द्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको अजेन्डा बोक्ने दल र नेतालाई जनताले रोज्नुपर्ने बताए। राजनीतिमा निष्ठा र इमानदारिता आवश्यक हुने चर्चा गर्दै उनले राजनितीलाई फोहोरी बन्न नदिन जनताले चुनावमार्फत् सही नेतृत्व छान्नुपर्ने स्पष्ट पारे।
पछिल्लो समय ‘मनि र मसल’ राजनीतिमा हावी भएकोमा उनको चिन्ता थियो। बैठकले देशभर भैरहेको चुनाव तयारीबारे समीक्षा गर्नुका साथै आगामी चुनावमा राप्रपा नेपाललाई विजय बनाउन आवश्यक रणनीतिसमेत तयार पारेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।