काठमाडौं– लोकतान्त्रिक समाजवादी नेपालकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। चौधरीले बुधबार लोसपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी हुन्।
उनलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु देउवा राणाले टिका लगाएर कांग्रेसमा स्वागत गरेका छन्।
उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने सहमति गरेर कांग्रेसमा प्रवेश गराइएको बताइएको छ।
चौधरी २०७४ सालमा तत्कालीन राजपाबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी थिइन्। उनले राजनीति भने कांग्रेसबाटै सुरु गरेकी थिइन्। मधेश आन्दोलनपछि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीसँग आबद्ध भएकी थिइन्।
केपी शर्मा ओली नेतृत्वको सरकारमा लोसपाबाट उनी १८ दिने मन्त्री पनि भएकी थिइन्। साथै तमलोपामा हुँदा समानुपातिक सांसद हुँदै राज्यमन्त्री भएको थिइन्। पछिल्लो समय लोसपाभित्र अध्यक्ष महन्थ ठाकुरका सबैभन्दा नजिकका नेतामा पर्ने चौधरीले बुधबार नेपाली कांग्रेस प्रवेश गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।