काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताए।
उनले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कू–संस्कारको रुपमा पछिसम्म स्थापित हुने बताए। विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको उनको भनाइ छ।
उनले भने, ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ। कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान, विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर हिन्दू, मुस्लिम, क्रिश्चियन, आदिवासी जनजातिहरु सबैका आ–आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो। किनभने यो विज्ञान गतिका नियमहरु थाहा थिएन। जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए।’
उनले अधिकांश चाडपर्वमा काल्पनिक महाशक्तिको परिकल्पना गरिएको बताए। उनले कुनै खालखण्डमा उत्पन्न भएको विचार समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको विचार व्यक्त गरे।
उनले भने, ‘अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ। पहिला त स्वभाविक थिए। अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ। एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ। त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।