काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका रवीन्द्र मिश्रले नेपाली कांग्रेसको आदर्श अब आफ्नो पार्टी (राप्रपा)ले बोक्ने बताएका छन्। नेपाली कांग्रेसका नेता बीपी कोइरालाले लिएको कांग्रेसको आदर्श नीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोक्ने मिश्रको भनाइ छ।
कांग्रेसका केही नेताले आफूमा विचलन आएको बताएको भन्दै मिश्रले उल्टै प्रश्न गरे। उनले भने, ‘केही कांग्रेसका साथीहरुले मलाई लक्षित गरेर भने विचलन आयो। कांग्रेसमा धेरै विचलन आयो कि ममा? २०५२ सालमा माओवादीले बन्दुक उठाउँदा कांग्रेस सरकारमा थियो कि हामी? बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सपना मारेर कसले विचलन ल्याएको?’
उनले कांग्रेसको त्यो आदर्श अब राप्रपाले बोक्ने बताउँदै राष्ट्रिय मेलमिलापको नीति आफूले बोकेको बताए। उनले थपे, ‘बीपीले भनेको सही रहेछ भनेर हामीले बुझ्दैछौं। मेरो राजासँग न लेना न देना। देशका लागि राजनीति गर्ने हो। ३० वर्षपछि सोचेर राजनीति गर्नुपर्छ। त्यसरी सोच्दा संवैधानिक राजा चाहिन्छ।’
उनले राप्रपालाई २१औं शताब्दी सुहाउँदो पार्टी बनाउने समेत बताए। यही चुनावमा शशक्त रुपमा उपस्थित हुने पनि उनको भनाइ छ।
मिश्रले अब संवैधानिक राजतन्त्रको स्थापना, धर्म निरपेक्षता र संघीयताको खारेजी चुनावी अजेन्डा हुने पनि बताए। आफूहरुले नरम सम्बर्द्धनवादीलाई अघि बढाउने उनले बताए।
पहिले यो स्पेश कांग्रेस रहेको मिश्रको भनाइ छ। तर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पठाएपछि खाली भएको मिश्रले टिप्पणी गरे। ठूलो संख्या नरम सम्बर्द्धनवादको पक्षमा रहेको बताउँदै राप्रपाले त्यही ठाउँमा आफूलाई उभ्याउने मिश्रको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।