काठमाडौं– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसद्ले पाँचवर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको आरोप लगाए।
उनले विकास, निर्माणको काममा बढी ध्यान दिनुपर्ने भएकाले पनि सांसदहरुले कानुन निर्माणको काममा ध्यान दिन नसकेको बताए। श्रेष्ठले सांसदहरुको मूल काम कानुन निर्माण गर्ने भएकाले त्यसैमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार मुलुकमा रुपान्तरण भएन। जनताले अनुभूति गर्न सक्ने लेवलको काम पनि संसद्बाट भएन। त्यसैले यो परिवर्तनको अनुभूति गर्ने बिन्दुमा जसरी ऐनहरु आउनु पर्थ्यो, त्यसरी भएन। र, विकासमा सांसदहरुको रुचि हुनुपर्ने बाध्यता छ। त्यो बाध्यतालाई बुझ्न सकिन्छ। तर त्यो बाध्यतालाई हामीले संसद्लाई गैर संसदीय क्रियाकलापमा त लग्दैनौं? हामीले सांसदहरुलाई गैर संसदीय बनाइराखेका त छैनौं ? मलाई यो डर छ।’
उनले दलको हालीमुहाली देख्दा संसद् बुदलवादी बढी र संसदीय कम देखिएको बताए। उनले जुन दलबाट सांसद बनेर संसद्मा छिरे उनीहरु दलको कब्जामा हुँदा स्वतन्त्र ढंगले जनताको आवाज राख्न नसकेको बताए। उनले राजनीतिक दलहरुलाई संसद्लाई गैर संसदीय प्रक्रियामा लैजाने काम नगर्न सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।