काठमाडौं- नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेसका साथीहरुको भाग खोस्ने हो भने प्रचण्डसँग लड्न किन नजाने? भन्ने प्रश्न गरेका छन्।
मंगलबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रचण्डले आफूहरुको भाग खोस्ने हो भने उनीसँगै प्रतिस्पर्धा गर्ने बताए। सिट बाँडफाटमा आफू आकांक्षी रहेको क्षेत्र माओवादीलाई दिन खोजिएकोमा असन्तुष्टि जनाए।
‘माओवादी र हाम्रो पार्टीका बीचमा सिट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ, त्यो आधारले नेपाली कांग्रेसभित्रका साथीहरुलाई अन्याय हुने अवस्था हामीले देख्यौं। जस्तो हाम्रै निर्वाचन क्षेत्र मोरङमा ४ नम्बर निर्वाचन क्षेत्र भनेको कांग्रेसको बर्चस्व भएको क्षेत्र हो। त्यहाँबाट मैले आफू लड्ने र प्रतिस्पर्धा गर्ने आकांक्षा राखेको छु। त्यो क्षेत्र बाँडफाँटमा माओवादी केन्द्रलाई दिने भन्ने कुरा बाहिर आयो। सहमति भयो भन्ने कुरा आयो’, उनले भने।
घिमिरेले १४ गते बन्दसूची सच्याउने बेलासम्म आफूहरुले पर्खिने बताए। लोकतान्त्रिक पार्टी र लोकतान्त्रिक पार्टीको नेतृत्वले लोकतान्त्रिक चरित्र र संस्कार प्रदर्शन गर्छ भन्ने आफूहरुको आशा रहेको उनले बताए।
‘१४ गतेसम्म पर्खिन्छौं। त्यसपछि हाम्रो अर्को चरण, मैले अस्ति नै बोल्दा पनि भनेको थिएँ, विनम्रताको चरण, विरोधको चरण र विद्रोहको चरण। त्यसपछि हामी अर्को चरणमा प्रवेश गर्छौं’, उनले चेतावनी दिए।
न्यायका निम्ति आवाज उठाउँदा कारबाही हुन्छ भने भोग्न तयार रहेको उनले बताए। ‘मूल्य चुकाउन तयार भएरै लागेको हो। यो प्रणाली कसले ल्याएको हो, तपाईंहरुलाई थाहा छ। यो प्रणाली ल्याएर यसलाई सञ्चालन गर्ने, अगाडि बढाउने प्रमुख हकदार हौं हामी। यो प्रणालीमै रमिते बनाउने हामीलाई र चार–चारवटा निर्वाचन वञ्चित गर्ने हामीलाई?’, उनको प्रश्न थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।