काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको रेसमा नभएको भएको बताएका छन्।
सोमबार गृह जिल्ला चितवनमा दशैं तथा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले भने, ‘केही साथीहरुले मलाई फेरि प्रधानमन्त्री भन्न खोज्नु भएको छ। म प्रधानमन्त्रीको रेसमा छैन। लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा, संविधानको रक्षा पहिलो प्राथमिकता हो। र, जनताको आर्थिक विकास र समृद्धि यो मेरो पहिलो प्राथमिकता हो।’
उनले २०७४ को चुनावपछि आफूलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर आएको पनि बताए। राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र त्यसको निम्ति समर्पित हुने आफ्नो प्रतिबद्धता भएकाले प्रधानमन्त्री पदलाई मुख्य रूपमा नहेरेको बताए।
अध्यक्ष प्रचण्डले चितवनका जनता धेरै सचेत भएको भन्दै उनीहरुको फैसला जहिले पनि लोकतान्त्रिक, अग्रगामीका साथै विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गरे।
उनले शान्ति सम्झौतमा हस्ताक्षर गर्दैगर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष आफूले जनताको फैसला मान्य छ भनेर संविधानसभामा हस्ताक्षर गरेको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।