काठमाडौं– काठमाडौंको तीनकुनेमा सञ्चालित अवैध कल सेन्टरबाट पक्राउ परेका चिनियाँ नागरिक र भारतीय नागरिक गरी ७ जनालाई अदालतले चेल चलान गरेको छ। काठमाडौं जिल्ला अदालतले ५ जना चिनियाँ र २ जना भारतीय नागरिकलाई संगठित अपराधको मुद्दाको पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा छापा मारेर साउन पहिलो साता ३४ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो।
अवैध तवरले कामदारहरू राखी कल सेन्टर संचालन गरी, सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत् धाक–धम्की दिइ, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाइ गर्ने गर्ने गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये ५ जना चिनियाँ र २ जना भारतीय नागरिकविरुद्ध मुद्दा चलाइएको थियो।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अदालतको आदेशपछि सातै जनालाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।