काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर ३४ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको तीनकुनेमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेर अहिलेसम्म ३४ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले अहिलेसम्म ३४ जनालाई पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।
कल सेन्टरको नाममा उनीहरुले अवैध धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ। यो घटनाबारे अनुसन्धान भइरहेको र अहिले पनि अपरेशन जारी रहेको एसएसपी बोहराले बताए।
आइतबार मात्रै रुपन्देहीमा पनि प्रहरीले अवैध कल सेन्टरमा छापा मारेको थियो। सो क्रममा करिब २०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ।
यसअघि पनि काठमाडौंमा चिनियाँ नागरिकले घर भाडामा लिएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा छापा मारेर ठूलो संख्या चिनियाँ नागरिकलाई पक्राउ गरिएको थियो। तर, त्यतिबेला प्रहरी अनुसन्धानबाट आरोप पुष्टि नभएपछि चिनियाँ नागरिकहरु सामान्य धरौटी तिरेर रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।