झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट जनविरोधी तत्व पराजित भएर जाने दाबी गरेका छन्।
आइतबार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनविरोधी तत्वलाई पराजित गर्न जनताले एमालेलाई साथ दिन अनुरोध गरेका छन्।
उनले जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिन सम्भव भएकाले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे। उनले भने, ‘आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ।’
यस्तै उनले आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औंल्याए।
उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएकोसमेत दाबी गरे। अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।