काठमाडौं- सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई दिइँदै आएको भत्ता बढाएको छ।
यसअघि उनलाई मासिक २५ हजार रुपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनका लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा आइतबार उनले भने।
२०६२/६३ सालको जनआन्दोलनपछि नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली... ’ कायम भएको थियो। सो गान व्याकुल माइलाले रचना गरेका थिए। त्यसअघि नेपालको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाल...’ थियो।
‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली... ’ विभिन्न १ हजार २७२ जनाका रचनामध्येबाट छानिएको थियो। सो गानमा संगीतकार अम्बर गुरुङले संगीत दिएका थिए। गुरुङको भने निधन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।