काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन्।
आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए।
उनले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए। उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ। शहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ। साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन’, मन्त्री श्रेष्ठले भने, ‘हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ। त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ। पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ।’
मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको गुनासो गरे। उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको बताए। उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनावद्ध रुपमा काम गरिरहेको जानकारी गराए। उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर हघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताए।
हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ। पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए। यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उनले उल्लेख गरे।
उनले पुराना सीप, शैली, पेसा, व्यवसायलाई पुनःस्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।