काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान घोषणापछि डा बाबुराम भट्टराई र आफूले गरेका प्रयोगहरु असफल भएको बताएका छन्।
शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘बाबुरामजीले उहाँको नेतृत्वमा अलिकति साहसिक पनि भन्न सकिन्छ, दुष्साहिक पनि भन्न सकिन्छ, उहाँले एउटा प्रयोग गर्नुभयो। त्यसैगरी मैले पनि नेकपा एमालेसँग एकता गरेँ। त्यसलाई साहसिक पनि भन्न सकिन्छ, दुष्साहसिक पनि भन्न सकिन्छ। मैले पनि नयाँ प्रयोग गरेँ। तर दुइटै प्रयोगका पछाडि हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि व्यवहारतः सफलचाहिँ भएनन्।'
उनले घटनाक्रमले आफूहरु अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्यमान्यताहरु, त्यसले ल्याएका परिवर्तनहरु धरापमा पर्ने देखिएको साबित गरेको बताए।
'प्रतिक्रियावादीहरु, बुर्जुवा र पेटीबुर्जुवाहरुले माओवादी आन्दोलनका नेता तथा कार्यकर्ताहरुलाई अपमानित गर्ने र यसका उपलब्धिहरुलाई उल्ट्याउनका निम्ति अनेक खालका कसरत यसबीचमा देखापर्यो', उनले भने।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा डा भट्टराई र उनी पक्षका नेताहरुले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ। त्यसैले पनि २०७२ सालमा अलग्गिएका दुई नेता पछिल्लो समय निकट बन्दै गएका छन्। आफूहरुबीच पटक–पटक कुराकानी भएको प्रचण्डले बताए।
संविधान घोषणाको एक हप्तापछि नै भट्टराई माओवादीबाट अलग्गिएर नयाँ शक्ति गठन गरेका थिए। पछि समाजवादी, जनता समाजवादी हुँदै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्वमा छन्।
प्रचण्डले पनि एमालेसँग एकता गरेका थिए। तर त्यो एकता तीन वर्ष पनि टिकेन। पार्टीभित्र बढेको विवादका बीच सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि उनी फेरि माओवादी केन्द्रको नेतृत्व गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।