काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर नागरिकताको अधिकार खोसिएको भन्दै आन्दोलनको घोषणा गरेको छ।
पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले नागरिकताको अधिकार खोसेको भन्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको जानकारी दिएको छ।
साथै उसले सरकारविरुद्ध पनि आन्दोलनको घोषणा गरेको छ। सरकारले किसान आन्दोलनका मागहरु सम्बोधन नगरेको भन्दै वडास्तरदेखि नै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो।
जस अनुसार असोज १० गते घटस्थापनाका दिन हरेक वडामा शुभकामना दिँदै नागरिकता अधिकार खोसिएको बारे माइकिङ गरिने जनमत पार्टीले जानकारी दिएको छ।
असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान/दिउँसो किसान आन्दोलन र नागरिकता विधेयकबारे अन्तरक्रिया कार्यक्रम गरेर टोलमा र्याली गर्दै स्थानीय चोक–चोकमा विरोध प्रदर्शन र कोणसभाको आयोजना गरिनेछ।
साथै दसैंको दिन अर्थात् असोज १९ गते किसान आन्दोलनका मागहरु पूरा नगर्ने सरकार र नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रम जनमत पार्टीले राखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।