काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा जान बाध्य भएको बताएका छन्।
सत्तारुढ दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको उनले दाबी गरे।
राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको जिकिर गरे। अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए।
उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन्। अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा, त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छन् नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ। यो गठबन्धन मरिगए छोड्दैनन्। यो त्यान्द्रो समातेनन् र छोडेभने यिनीहरुलाई त्रिशूलीको भेलमा पुगेजस्तो हुन्छ। एमालेको भेलले बगाउँछ। त्यसकारण यिनीहरुले गठबन्धन नामको याे त्यान्द्रो छोडदैनन्। यो समाती राख्न यिनीहरु बाध्य छन् किनकी एमालेको भेल यस्तो आइराखेको छ। बगाउँछ। यसमा जहाँ नेपाली, त्यहाँ एमाले। देशभित्र मात्रै होइन, देश बाहिर पनि जहाँ–जहाँ नेपाली पुगेका छन्। त्यहाँ एमाले पुगेको छ। त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले ।’
ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।