काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन्।
उनले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे।
देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको उनको भनाइ छ। आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको उनले बताए।
उनले भने, ‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ। कुरा धेरै नै गहिरो छ। जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ। त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ। हामीले आफ्नो शतर्कता गुमायौं भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौं भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौं भने कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा छ। मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रुपमा भन्दैछु। अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझि, नजानेर, झुक्किएर भन्ने होइन। जानिबुझि संविधान मिच्ने जो काम भएको छ। यो सामान्य होइन।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाण्कीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ। उनले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।