काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिममा दुईवटा नयाँ र आशा लाग्दो अनुहार देखा परेका छन्। ती दुई नयाँ अनुहार हुन् –आशिष चौधरी र ऋतिक खड्का।
नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने २३ सदस्यीय अन्तिम टोलीको नाम घोषणा गर्दा आशिष र ऋतिकको पनि नाम लिए।
यी दुईको खेलाडी राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार २३ सदस्यीय टोलीको घोषणामा परेका यी दुई नयाँ अनुहार अहिले सबैको नजरमा परेका छन्। अहिलेसम्म सिनियर राष्ट्रिय टोलीमा परीक्षण (टेस्ट) नभएका उनीहरुमाथि धेरैले आशा राखेका छन्।
यी दुवै फरवार्ड पोजिसनबाट खेल्ने भएकाले पनि मुख्य केन्द्रमा रहने देखिन्छन्। राष्ट्रिय टोलीमा आफूहरु पर्नुको कारणलाई पुष्टि गर्ने अवसर यी दुई नयाँ अनुहारमा आएको छ।
सर्लाही लालबन्दीका २० वर्षीय ऋतिकले गतवर्ष थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलेका थिए। मोरङ सुन्दरहरैँचा–७ गछियाका २२ वर्षीय आशिष भने चर्च ब्वाइज क्लबलाई ए डिभिजनमा उकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए।
यही असोज ११ गते दशरथ रंगशालामा नेपाल बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बंगलादेश भने यतिबेला उच्च फर्ममा देखिएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत गएराति भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० गोलले हराएको छ।
फिफा वरीयतामा बंगलादेशभन्दा कम्बोडिया १८ स्थान अगाडि छ। ५ खेलमध्ये ४ मा जित र १ मा बराबरीको नतिजा बंगलादेशले निकालेको छ। कम्बोडियालाई हराएको यही टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यस्तो छ नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ, सुनिल बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,
फरवार्ड : विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।